मत-विमत

शतबीज छर्ने धार्मिक पर्व बालाचतुर्दशी

विश्वनाथ खरेल २०७५ मंसिर २० गते ७:४१ मा प्रकाशित

शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वन क्षेत्रमा शतबीज छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ ।

वैदिक सनातन धर्मालम्बीहरूको प्रमुख चाडपर्वमध्ये बालाचतुर्दशी पनि एक हो । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका तिथिमा यो पर्व मनाइन्छ । यस वर्षको पर्व मंसिर २० गते बिहीबार परेको छ । शतबीज छर्नु यो पर्वको मौलिक स्वरूप हो । नेपालका शिव मन्दिर रहेका क्षेत्रमा शतबीज छर्नेहरूको ज्यादै घुइँचो लाग्ने गर्दछ । पशुपतिनाथ मन्दिरमा त यस दिन खुट्टा राख्न पनि मुस्किल हुनेगरी भिड लाग्छ ।

यसै क्षेत्रमा रहेको मृगस्थली वनमा हजारौँ मानिसहरूले शतबीज रोपण गर्ने गरेका छन् । हाम्रो संस्कृति गाथामा एउटा भनाइ छ ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह ।’ यसैले न हो वास्तविक विश्व विजेताहरू साम्राज्य विजय हेरी सांस्कृति विजयलाई बढ्ता महत्व दिइन्छ । तसर्थ, नेपाली समाजमा वर्षभरिमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्थाअनुसार मनाइने यस्ता चाडपर्वमा बालाचतुर्दशीको पनि आफ्नै किसिमको महत्व रहेको छ ।

बालाचतृर्दशीको सम्बन्ध पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको ४२ अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुमे, खाए, सुते, हिँडे र विहार गरे त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा प्राणी मात्रको जीवन यापनका लागि चाहिने अन्य दान गर्ने मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुनदान गरेको पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ ।

शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वन क्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी वर्षाै वर्ष बितेको पत्तै भएन ।

माता पार्वतीलगायत समस्त देवीदेवताहरूलाई ज्यादै पिर पा¥यो । भोलेबाबा कहाँ छन् भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरूप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरी रहेको देवी पार्वतीले थाहा पाइन् । शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छरे । केही हप्तापछि छरिएका बीजहरू उम्रिएर हरियो घाँस भएपछि मृगहरू लोभिएर आउन थाले आएका मृगमध्ये मृगरूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुआत भएको शतबीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति वन यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।

शतबीज भन्नाले सात किसिमका चिजका गेडागुडीहरू भन्ने बुझिन्छ । शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सस्र्यू, मकै, जौँ, धान, वयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्दछन् । शतबीज छर्न नेपाल गणराज्यका विभिन्न भागहरूलगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । त्रयोदशीका दिन महाद्वीप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिँड्छन् ।

यसदिन टाढा जान असमर्थ कतिपयले नजिकैको तीर्थस्थल मन्दिर, देवालयमा गई शिव प्रार्थना गरी रातभर जाग्राम बस्ने प्रचलन पनि जनसमुदायमा छ । शतबीज छरिसकेपछि खीर, फलाहार, दही, च्युरा र पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलिला, कृष्ण चरित्रसम्बन्धी भजन-कीर्तन गाइने परम्परा नेपाली समाजमा छ । हाम्रो समाजमा दुइथरी विश्वास बोकेका मानिसहरूको शतबीज छर्ने प्रचलन छ ।

एकथरी अघिल्ला वर्षहरूमा आफ्नो परिवारजनको स्वर्गारोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छदैं चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशाले छर्ने गर्दछन् । सार्वजनिकरूपले शतबीज छर्ने अघिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ । एकमुखे रुद्राक्ष, नागमणिजस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्ण औँशीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचतुर्दशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ ।

जसलाई ‘कन्या’ भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । बालाचतुर्दशीको दिनदेखि पशुपतिनाथलाई तातो पानीले स्नान गराइन्छ । चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । महत्व बुझ्नेहरू सबेरै बाग्मतीमा नुहाएर ‘सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधत’ भनी मन्त्र पढ्दै शतबीज छर्दछन् । यसर्थ, हरेक साल शतबीज छर्नेहरूको घुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो ।

यसपटक पनि जाडो त अवश्य बढ्ला नै तर मुलुकको वर्तमान शान्तिको स्थितिको कारण गर्दा श्रद्धालुहरूको घुइँचो विगतका वर्षहरूको तुलनामा बढ्ने अनुमान गरिएको छ । यसदिन बौद्ध धर्मावलम्बीहरू स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन् । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ र गुरुङ आदि जनजातिहरूले अन्न, अनि फलफूल छर्ने गर्छन् । सो दिनमा देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनीहरूको छ । देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

तसर्थ, मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको भिड लाग्न थाल्छ । पसलेहरू सकेसम्म राम्रो ठाउँ ओगटेर पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरू यात्रुहरू जहाँजहाँ मिल्छ त्यहीँ त्यहीँ आप्mना डफ्फाका साथ आसन बसाउँछन् साँझ पर्दासम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुस्किलले पाइने स्थिति हुन्छ । साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ ।

एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तीबाट पितृका नाउँको दीयो वा महादीप र जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भने अर्कातिर मादल र बाँसुरीको तालमा नाच्ने पनि हुन्छन् । अनि कोही धार्मिक प्रवृत्तिका रसिक पाकाहरू पनि बैँसको स्मृतिमा भजन, चुड्का र कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् ।

समग्रमा भन्नुपर्दा पशुपतिक्षेत्रमा त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रात झैँ सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुकजस्तो गाढा अन्धकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैँ देखिन्छ । अनि चतुर्दशीको दिन चाहिँ बिहान सबेरै महादीप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिसहरू नुवाइधुवाइ पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य गर्दछन् ।

त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खासगरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाइ अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपको प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छन् र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने धार्मिक जनविश्वास छ । यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र वैदिक सनातन धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय