अन्तर्वार्ता

कम्युनिस्ट पार्टीका कार्यकर्ता भ्रष्टाचारमा लिप्त

सौर्य अनलाइन २०७५ मंसिर २० गते ८:०९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता हुन् लोककृष्ण भट्टराई । यतिवेला राजनीतिक जिम्मेवारी नभएका उनी केही समयअघि दुई ठूला कम्युनिस्ट पार्टी एक भएकोमा भने खुसी छन् । तर, यतिवेला मुलुकमा दुईतिहाइको अवस्थामा रहेको कम्युनिस्ट पार्टीको सरकारले गरेका काम र पार्टी सञ्चालन पद्धतिप्रति भने उनी सन्तुष्ट छैनन् । कम्युनिस्ट पार्टीको नेताले आफ्नै पार्टीको बैठक राख्न नसक्ने तर, आइएनजिओको सम्मेलनमा भाग लिएको भन्दै केही दिनअघि काठमाडौंमा भएको ‘एसिया प्यासिफिक’ प्रति लक्षित गर्दै आलोचना गरेका छन् । यसै सन्दर्भमा लोककृष्णसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको सम्पादित अंशः

केमा व्यस्त हुनुहुन्छ, हिजोआज ?
गरिब नेपाली जनताको सेवामा व्यस्त छु । ७७ जिल्लाका कांग्रेस कम्युनिस्ट पार्टीबाट पीडित नेता कार्यकर्ता आउँछन् उनीहरूसँग कुरा गर्ने र उनीहरूको सेवामा बित्छ, हिजोआजको मेरो दैनिकी ।

कम्युनिस्टमा पनि नेता कार्यकर्ता पीडित हुन्छन् र ?
किन नहुनु, कम्युनिस्ट पार्टीले अन्याय गरेका मान्छे थोरै छन् भन्ने ठान्नु भएको छ । कम्युनिस्ट पार्टीमा लागेर दुःख पाएका लाखौँ मान्छे छन् । कम्युनिस्ट पार्टीमा क्रान्ति होला मुलुकले परिवर्तनको अनुभूति गर्ला भनेर लागेका मान्छेहरू धेरै अन्यायमा परेका छन् । त्यसको कारण हो परिवर्तन नहुनु र सामाजिक सुधार, गरिब सुकुम्बासी र मजदुरका पक्षमा काम गर्न नसकेका कारण र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनताले दुःख पाएका छन् ।

सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । मान्छे भ्रष्ट भएपछि कुनै कुरा राम्रो हुँदैन । राजा महाराजाका पालमा पाप लाग्छ भन्ने डर थियो । अहिले नैतिकताको पाठ सबैमा पढाउन पर्यो र आफ्ना कार्यकर्तालाई पारदर्शी रूपमा मासिक तलब दिने भनेर संसद्मा बिल ल्याएर भए पनि उनीहरूलाई भ्रष्टाचार हुनबाट रोक्नुपर्यो

दुइतिहाइको कम्युनिस्ट सरकार भएको मुलुकको सरकारी कार्यालयमा घुस नखुवाई कुनै पनि काम हुँदैन । त्यसलाई नियन्त्रण गर्ने बारेमा सरकारले ध्यान दिएको छैन । यसका साथै पार्टीका राम्रो र इमानदार कार्यकर्तालाई पार्टीको कमिटी प्रणालीमा ल्याउन छोडेर आफ्ना गुटका कार्यकर्तालाई पार्टीमा भर्ना गरेका छन् । कम्युनिस्ट पार्टीमा अध्यावधिक र मूल्यांकनको परिपाटी अन्त्य भएको छ ।

लामो सयम पार्टीमा लागेका नेता कार्यकर्ता अहिले पार्टीभन्दा बाहिर छन् । यही त हो नि अन्याय भनेको । हिजो माओवादीको नाममा युद्ध गरेका धेरै युवा आज खाडी राष्ट्रमा श्रमिकका रूपमा छन् । बुद्धुका नाममा ज्यान गुमाउनेको परिवारको अवस्था बेहाला छ । सरकारले दिएको ४ लाखबाहेक केही पाएका छैनन् ।

मुलुकमा इतिहासकै बलियो दुईतिहाइको कम्युनिस्टको सरकार छ । तर, जनतामा असन्तुष्टि, निराशा र गुनासा बढी छन्, किन होला ?
नेपाली जनताले परिवर्तनको अनुभूति पाउने भनेको कम्युनिस्टबाटै हो अरूले गर्दैनन् । तर, त्यो कहिले भनेर ज्योतिषिले जस्तो भन्न सकिँदैन । प्रगतिशील आन्दोलन र आमुल सुधार भनेकै जबसम्म मुलुकमा गरिबी रहन्छ तबसम्म रहन्छ । अहिले कम्युनिस्ट पार्टीबाट सरकारमा पुगेका मान्छेहरू सरकारको मेसिनरीलाई रूपान्तरण गरी गरिबको पक्षमा लाग्न छोडेर आफैँ रूपान्तरण भए ।

सरकारका मेसिनरीले सरकाका मान्छेलाई रूपान्तरण गरिदियो । जस्तो विश्वको इतिहासलाई हेर्ने हो भने पूर्वी यूरोप समाप्त हुनका कारण पनि त्यही थियो । सरकार जब कर्मचारीले चलाउन थाल्छ, त्यस्तै हुन्छ । नौ महिने सरकारमा मनमोहनले ल्याएका सुधारका कार्यक्रमले कम्युनिस्ट पार्टीको सरकार लोकप्रिय भएको थियो ।

नेपालमा कम्युनिस्ट पार्टी जनताका बीचमा लोकप्रिय भएको त्यसैले हो । कम्युनिस्ट पार्टीले जनताको हितमा आफ्नो गाउँ आफैँ बनाऊँ, सामाजिक सुरक्षा भत्ता, वृद्धाभत्ताजस्ता कुराले कम्युनिस्ट पार्टी टिकेको छ । अब अहिले पनि कांग्रेसले २२ वर्ष शासन गर्दा निजीकरण नाममा ध्वस्त भएको देशको आर्थिक अवस्थालाई सुधार गर्नुपर्छ । यसका लागि कम्युनिस्ट पार्टीको सरकारले सबैभन्दा बढी कृषि र ऊर्जामा लगानी गरी रोजगारको अवसर सिर्जना गर्नुपर्छ ।

तर, कम्युनिस्ट पार्टीले सिद्धान्तमा भनेजस्तो चिन्न सकेन नि होइन ?
हो, यहाँका कम्युनिस्ट पार्टी एकीकरण हुनुपर्छ भनेर सबैभन्दा पहिला कुरा उठाउने म हुँ । त्यसैका आधारमा एकता भयो । तर, कम्युनिस्टको सरकारले ल्याएको बजेटमा कृषिमा १ दशमलव ९ छ । १३ खर्ब बजेट भएको देशमा साढे १२ खर्ब व्यापार घाटा छ । अनि के निकासी हुन्छ ? न यहाँ राम्रो उद्योग कलकारखाना छन् । अनि गरिब नेपालीको हितमा के गर्न सकिन्छ । कम्युनिस्ट पार्टीले त गरिबको पक्षमा बजेट ल्याउनुपर्ने थियो । तर, त्यसो भएको छैन ।

मुलुकमा अर्थतन्त्रको विकास भएपछि मात्रै सामाजिक न्यायको ग्यारेन्टी हुन्छ । यतिवेला कम्युनिस्ट पार्टीको सरकार छ । तर, एकीकरण भएको भनेको पार्टीको संरचना अहिले पनि अन्योलमा छ । आफ्ना कार्यकर्तालाई तलसम्म प्रशिक्षण दिनुपर्दैन ? अहिले महिलामाथि भएका हिंसामा अपराधी पत्ता नलागेको विषय लाजमर्दो छ

हुनुपर्ने चाहिँ के हो त ?
अहिलेको जुन बजेट प्रणाली छ, त्यसलाई आमूल रूपान्तरण गर्नुपर्छ । सरकारले जनताका बीचमा बोलेका कुरा पूरा गर्नुपर्छ । मजदुरको बिमा ढिला भयो । वृद्धाभत्ता ५ हजार रुपैयाँ पुर्याउनु पर्यो र अन्तभन्दा ऊर्जा र कृषिमा बजेट बढाउनपर्छ । म सौर्य दैनिकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिन चाहन्छु । कर्णालीमा (जिएआर) बनाउन नेपालीले नै सक्छन् किन विदेशीसँग पैसा माग्नु पर्यो । त्यस्तै, बुढीगण्डकी पनि नेपालीले नै बनाउन सक्छन् ।

३ करोड नेपालीलाई सेयर बेच्ने प्रधानमन्त्रीले आह्वान गर्ने, संसद्मा संकल्प प्रस्ताव पारित गर्नुप¥यो । ३ करोड नेपालीलाई ५० हजारका दरले सेयर बेच्ने त्यसको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । त्यस्तै, विदेशमा बस्ने नेपालीको सहयोग लिने हो भने २ सय ५० खर्ब रुपैयाँ उठ्छ । त्यसले २०–२५ हजार मेगावाट विद्युत पाँच वर्षमा निस्कन्छ । त्यसपछि डिजल र पेट्रोल विस्थापित गरेर केबलकार रोप वे चलाउने हो भने पाँच वर्षमा नेपाललाई निकै विकास गर्न सकिन्छ । नेपाल आफैँले गर्न सक्ने धेरै कुरा हुँदाहुँदै पनि विदेशी ऋणको भर परेर हामी बिग्रिएका हौँ ।

तपाईंको आसय सरकारमा बस्नेको ईच्छाशक्ति छैन भन्न खोज्नुभएको हो ?
हो, उनीहरूसँग ईच्छाशक्ति पनि छैन र उनीहरूले त्यतातिर ध्यान पनि दिएका छैनन् । सरकार फटाहा कर्मचारीतन्त्रले जे भन्यो त्यसैको पछि लगेर बिग्रिएको छ । कर्मचारीतन्त्रले सरकार चलाएकाले बिग्रिएको हो । यदि, सरकारले कर्मचारी चलाइको भए यस्तो हुँदैन थियो । सरकारले विद्युत् विकास कम्पनी खोलेर प्रधानमन्त्री आफैँले घोषणा गर्ने ‘मैले यतिउति पैसा सेयरमा हालेँ अरूले पनि हालौँ’ भन्नुपर्छ ।

त्यो अभियानको सुरुआत उहाँले गर्ने र त्यसको सुरक्षाको ग्यारेन्टी गर्ने हो भने किन हुँदैन । त्यसका लागि विदेशीको सीप र ज्ञान लिने अनि राम्रो कामको सीप जोसँग लिए पनि हुन्छ । विश्वमा आफ्नै जनता र देशको सहयोगले विकास भएका धेरै राष्ट्र छन् अर्जेन्टिनाले गरेको विकास हेर्न सकिन्छ, विदेशी ऋणमा डुबेको उक्त राष्ट्र अहिले समृद्धितर्फ लम्केको छ ।

सरकारप्रति जनताको आलोचना बढेको छ । सामाजिक सुरक्षा छैन । विकास निर्माणमा जनताको अपेक्षाअनुसार काम भएन भन्ने छ, त्यसको कारण के होला ?
यो सरकारले नौ महिने सरकारमा जसरी जनताका पक्षमा काम गरेर लोकप्रिय बनेको थियो, त्यसैगरी जनताका पक्षमा काम गर्नुपर्छ । अहिले पनि केही बिग्रिएको छैन । यो पत्रिकामार्फत म सरकारलाई सुझाव दिन चाहन्छु । आगामी बजेटमा कृषि र ऊर्जालाई जोड दिनुहोस् । माथि भनेअनुसार काम गर्ने हो भने त्यसले रोजगार सिर्जना गर्छ र जनताको आर्थिक अवस्था सुदृढ हुन्छ । त्यस्तै, महँगी नियन्त्रण गर्न उत्पादन बढाउन पर्यो । युवाशक्तिलाई स्वदेशमा नै रोजगारी दिनुपर्यो ।

विदेशबाट आउने प्लास्टिकको चामल र मासु रोक्ने यही उत्पादन बढाउने काम गर्नुपर्छ । कृषिप्रधान देश भनिन्छ । तर, यहाँ प्रयोग हुने अन्न बाहिरबाट आउँछ । दुनियाँमा विकास गरेका देशबाट सिक्ने, अध्ययन गर्ने र त्यो ज्ञान क्षमता भएका मान्छेसँग सल्लाह लिनुपर्छ । मैले जानेबुझेको कुरा जानकारी गराँदा केही दिनुपर्दैन त्यतिकै गरिदिन्छौँ ।

तर, सरकार अनि कर्मचारीले हजुर, बक्सियोस् र मर्जी होस्जस्ता चिल्ला कुरा गरेकोमा दंग छ । कर्मचारी बदनाम हुँदैन, सरकार बदनाम हुन्छ, नेता बदमास बन्छन् जनताका पक्षमा काम गर्न नसक्दा । त्यसैले, नेताहरूले हरेक विषयमा गम्भीर भएर अध्ययन गर्नुपर्छ । सचेत भएर काम गर्नुपर्छ, कर्मचारीको लहैलहैमा लागेर फस्ने काम गर्नु हुँदैन । मुलुक विकास हुने भनेकै अर्थतन्त्रले हो । आज चीनलाई हेर्दा त्यो पुस्टि हुन्छ । कुनै वेला कम्युनिस्टले केही गर्दैन भन्थे । तर, उसले अमेरिकालाई उछिन्यो ।

६ महिनाभित्रमा महाधिवेशनको मिति तय गर्न नसक्नु अनि नौ जनाको सचिवालयलाई केन्द्रीय समिति बनाउनु हुँदैनथ्यो । तर, यति ठूलो केन्द्रीय समिति बनाए । त्यो कमिटीको बैठक नै कहिल्यै पनि बसेको सुनिँदैन । पार्टीको बैठक पनि वेला र परिस्थितिअनुसार बस्न सक्दैन, नेताहरू आइएनजिओको सम्मेलनमा भने जान्छन्, यस्तो पनि कम्युनिस्ट पार्टी हुन्छ ? यसले कम्युनिस्ट पार्टी बदनाम हुँदै छ । त्यसलाई नियन्त्रण गर्नु आवश्यक छ

मुलुक चार महिनासम्म हत्यारा पत्ता लगाउन नसक्ने तहमा पुगेको छ, यति बलियो सरकारले दिन नसकेको न्याय अब कसले देला ?
मुलुकमा अर्थतन्त्रको विकास भएपछि मात्रै सामाजिक न्यायको ग्यारेन्टी हुन्छ । यतिवेला कम्युनिस्ट पार्टीको सरकार छ । तर, एकीकरण भएको भनेको पार्टीको संरचना अहिले पनि अन्योलमा छ । आफ्ना कार्यकर्तालाई तलसम्म प्रशिक्षण दिनुपर्दैन ? अहिले महिलामाथि भएका हिंसामा अपराधी पत्ता नलागेको विषय लाजमर्दो छ । पार्टीको सभ्यता के हो, माओले पढाएको तीन आठको नियम पढाउन पर्यो । अधिकांश कम्युनिस्ट पार्टीका कार्यकर्ता भ्रष्टाचारमा लिप्त भएका छन्, त्यसको कारण हो, प्रशिक्षण नहुनु । मैले नेकपाका मुख्य नेतालाई सुझाव दिएको थिएँ ।

६ महिनाभित्रमा महाधिवेशनको मिति तय गर्न नसक्नु अनि नौ जनाको सचिवालयलाई केन्द्रीय समिति बनाउनु हुँदैनथ्यो । तर, यति ठूलो केन्द्रीय समिति बनाए । त्यो कमिटीको बैठक नै कहिल्यै पनि बसेको सुनिँदैन । पार्टीको बैठक पनि वेला र परिस्थितिअनुसार बस्न सक्दैन, नेताहरू आइएनजिओको सम्मेलनमा भने जान्छन्, यस्तो पनि कम्युनिस्ट पार्टी हुन्छ ? यसले कम्युनिस्ट पार्टी बदनाम हुँदै छ । त्यसलाई नियन्त्रण गर्नु आवश्यक छ ।

नेपालमा पनि कम्युनिस्ट पार्टीलाई जनताले नियन्त्रण गर्छन् । कुनै वेला एमाले पजेरो र प्राडो कान्डले माले माओवादी बनेकै हो । नेकपाले आमूल सुधारको काम गर्न सकेन भने अर्को नेकपा जन्मन्छ । त्यसैले, उत्पादन बढाउनपर्छ सिद्धान्त खाएर भएन । यहाँको उत्पादन बढाउन कृषि र ऊर्जामा ध्यान दिनपुर्छ । यस्तै, कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता नैतिकवान् र जनप्रिय बन्नुपर्छ । कम्युनिस्ट पार्टीको नेता कुनै धर्म विषयको पुरस्कार लिँदै हिँड्नु हुँदैन । त्यसले पार्टीलाई बदनाम बनाउने काम गरेको छ ।

सरकारले के गर्न सक्यो भने आउने दिनमा मुलुक र जनताको हित हुन्छ ?
मेरो जोड मुलुकमा अर्थतन्त्र सुधार हुनुपर्छ भन्ने हो । विदेश जाने युवालाई यहीँ अकबरे खुर्सानीको खेती गर्न लगाउने हो भने त्यसलाई जापानले प्रतिकिलो ८ हजार रुपैयाँमा किन्छ । केहीदिन अघि एक चिनियाँ प्राध्यापकले मलाई भने । चीनमा बंगुरको मासु भियतनाम, थाइल्यान्ड, फिलिपिन्सलगायत मुलुकबाट आउँछ । त्यहाँ बंगुरको मासु नेपाली १५ सय रुपैयाँ किलो छ । बंगुर पालेर त्यसको मासु सप्लाई गर्न सके पनि नेपालीले रोजगारी पाउँछन् । त्यसका लागि व्यवस्थित बधशाला बनाएर पठाउन सके हुने थियो । सरकारको ध्यान त्यता छैन खाली रेमिट्यान्सको कुरा मात्रै गर्छ ।

एसिया प्यासिफिक सम्मेलनका ’ बारेमा पनि सरकार आलोचित बनेको छ । मदिरासम्मको कुरा आएको छ, के हो ?
रक्सी त जलको रूपमा शिरमा छर्किएको हुँ, खाएको होइन रे । तर, जे गरे पनि त्यो कार्यक्रमले सरकार र कम्युनिस्ट पार्टी बदनाम भएकै हो । यसमा आलोचित बन्नु स्वाभाविक छ । जनता कम्युनिस्ट पार्टीको नेता इमानदार र नैतिकवान् बनून् भन्ने चाहन्छन् । त्यो कार्यक्रममा जानै हुँदैन थियो । गएर मुनको माला लगाउने कामले बदनाम भएकै हो । उनले माक्र्स, लेनिन, माओ वा पृथ्वीनारायण शाहको माला लगाएको भए हुन्थ्यो । वा चर्चित वैज्ञानिकको माला लगाएको भए पनि हुन्थ्यो । मुनको लगानु गलत हो ।

सरकारमा दुईतिहाइको दम्भ बढेको त होइन ?
यो कुराले कहिले काहीँ दुःख लाग्छ । अस्ति हामी एकाथरी अक्टोबर क्रान्ति दिवस मनाइरहँदा कम्युनिस्ट पार्टीकै केही नेता मुनको कार्यक्रममा सहभागी हुँदै थिए । अहिले नेपालको कम्युनिस्ट पार्टीमा यस्तो विडम्बना छ । यो कम्युनिस्ट पार्टी दक्षिणपन्थीको बाटोमा जाने संकेत हो । यसलाई तानेर सबैले ठीक ठाउँमा ल्याउनुपर्छ । मुलुक बनाउने सबैले हो । विप्लवलाई पनि वार्तामा ल्याउनुपर्छ दमन गर्ने होइन । उनीहरू पनि कम्युनिस्ट नै हुन यही मुलुकका ।

मुलुकको बागडोर कम्युनिस्ट पार्टीको हातमा छ । त्यसमा तपाईंको पनि लगानी छ । अब यो मुलुक समृद्ध बनाउन के गर्नुपर्छ ?
सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । मान्छे भ्रष्ट भएपछि कुनै कुरा राम्रो हुँदैन । राजा महाराजाका पालमा पाप लाग्छ भन्ने डर थियो । अहिले नैतिकताको पाठ सबैमा पढाउन पर्यो र आफ्ना कार्यकर्तालाई पारदर्शी रूपमा मासिक तलब दिने भनेर संसद्मा बिल ल्याएर भए पनि उनीहरूलाई भ्रष्टाचार हुनबाट रोक्नुपर्यो । कार्यकर्तालाई भ्रष्टाचार नगर भनेर खुलापत्र चलाउनु पर्यो । प्रहरी प्रशासनलाई नेतामुखी होइन व्यवसाय मुखी बनाउनु पर्यो ।

मलाई ५० हजार दिनुपर्यो भनेर फोन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्यो । त्यो काम नेताबाट सुरु गर्नुपर्छ । नेताहरूले इमानदारीता पूर्वक काम गर्ने हो भने पाँच वर्षमा सबै समस्या समाधान हुन्छ । निर्वाचनमा हुने गरेको चन्दा र निजी खर्चको व्यवस्था अन्त्य गर्नुपर्छ । निर्वाचनमा खर्च गर्न नपाउने नियम संसद्मा ल्याउनुपर्छ । विकास र भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सहमति सबैले गर्नुपर्छ

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय