अर्थबजार

रावा बैंकको बिजनेस मिट सम्पन्न

सौर्य अनलाइन २०७५ मंसिर २० गते ८:४३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरू सम्मिलित बिजनेस मिट–२०७५ चितवनको सौराहमा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप, कर्जा, ई–बैंकिङ, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो ।

कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा रावा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरूलाई निर्देशन दिएका थिए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरू केसबप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रवन्धकहरू लगायतको उपस्थिती रहेको थियो । बैंकको हाल ७४ जिल्लामा २ सय ८ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय